२०८२ साल माघ १९ गते अाईतबार

सप्तरी–३ मा ताराकान्त, उपेन्द्र र दिनेशबीच त्रिपक्षीय भिडन्त

कृष्ण मण्डल

राजविराज, ११ माघ । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर त्रिपक्षीय भिडन्त रोचक बन्दै गएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता ताराकान्त चौधरी र नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

मुख्य प्रतिस्पर्धीसँगै यस निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि चर्चामा छन्। राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्र कुमार मण्डल, नेपाली कम्युनिष्ट पार्टीबाट अरुण कुमार साह तथा जनमत पार्टीबाट सुरेन्द्र प्रसाद शर्माले समेत चुनावी गतिविधि तीव्र पारेका छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी पनि चर्चाको पात्र बनेका छन्। उनी नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीका भतिज भएकाले एउटै निर्वाचन क्षेत्रमा नातागोता बीचको राजनीतिक प्रतिस्पर्धाले चुनावी माहोल थप चासोपूर्ण बनेको छ।

सप्तरी–३ मा कुल २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। बहुपक्षीय प्रतिस्पर्धाका कारण यस क्षेत्रको चुनावी नतिजाप्रति सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्मको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया