२०८३ साल ब‌ैशाख ३२ गते शुक्रबार

बेपत्ता महिलाको शव कोशी किनारमा फेला

राजबिराज , ३० बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला निवासी विरेन्द्र राय उर्फ छोटुकी पत्नी अनिता देवी रायको शव बुधबार कोशी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत बुधबार रातिदेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिकाको वडा नम्बर–५ स्थित ‘नौ किलोमिटर’ क्षेत्रमा सडेको तथा शङ्कास्पद अवस्थामा भेटिएको हो ।

प्रहरी प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीका अनुसार मृतकको हातखुट्टा डोरीले बाँधिएको अवस्थामा शव फेला परेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई ढुङ्गा प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

परिवारजनका अनुसार छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी केही व्यक्तिको समूहले अनिता देवीलाई घरबाटै जबरजस्ती लगेको आरोप लगाइएको छ । घटनापछि घरको आँगनमा रगतका छिटा समेत भेटिएकाले सोही राति उनीमाथि आक्रमण भएको आशङ्का गरिएको थियो ।

परिवारले तत्काल प्रहरीलाई जानकारी गराए पनि खोजतलासका क्रममा शव फेला परेको हो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया