२०८३ साल ब‌ैशाख ३२ गते शुक्रबार

सुत्केरी मृत्यु प्रकरण : ३ लाख क्षतिपूर्ति र रोजगारी सहमतिपछि आन्दोलन स्थगित

राजविराज, ११ फागुन — राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल मा प्रसूति उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु भएको घटनामा सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादव को उपस्थितिमा अस्पताल प्रशासन, पीडित पक्ष र सरोकारवाला निकायबीच सहमति भएपछि आन्दोलन रोकिएको हो।

घटनापछि उत्पन्न विवाद समाधान गर्न गरिएको छलफलमा मृतक परिवारलाई किरिया खर्चसहित ३ लाख रुपैयाँ क्षतिपूर्ति तत्काल उपलब्ध गराउने, परिवारका एक सदस्यलाई रोजगारी दिने तथा नवजात शिशुको भरणपोषण र उपचार निःशुल्क गर्ने सहमति भएको छ।

सहमति प्रक्रियामा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अबधेश कुमार झा, अप्रेसनमा संलग्न चिकित्सक दिलिप कुमार साह, छिन्नमस्ता गाउँपालिका का अध्यक्ष विद्यानन्द चौधरी, वडा नं. ५ का अध्यक्ष जयप्रकाश ठाकुर, निवर्तमान वडा अध्यक्ष शिवशंकर पण्डित, नेपाल पत्रकार महासंघ का सचिव कृष्ण मण्डल लगायत पीडित पक्ष तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सहमति पश्चात् पीडित पक्षले अस्पतालअगाडि जारी विरोध कार्यक्रम स्थगित गरेको जनाएको छ। निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा जानकारी गराउने तथा अस्पतालको सेवा सुधारका लागि जनशक्ति, भौतिक पूर्वाधार र औषधि व्यवस्थापन सुदृढ गर्ने प्रतिबद्धता समेत जनाइएको छ।



प्रतिक्रिया