राजविराज, १२ माघ । कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–६, कोचाबखरीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत १८२ जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको हो।
सोमबार आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख सूर्य नारायण मुखियाको प्रमुख उपस्थितिमा सामग्री वितरण गरिएको थियो। कार्यक्रममा क्षेत्रीय कर्मचारी दुर्गा ध्वज अधिकारी तथा शाखा कर्मचारीहरू रतन प्रसाद यादव र उमाकान्त देवको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजु देवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह, शिक्षा अधिकृत बिरेन्द्र कुसियात, विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारी, शिक्षक अशोक चौधरी, ओपिनदर ठाकुरलगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्नुभयो। उहाँले कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।