राजबिराज, ५ माघ। डाक्नेश्वरी नगरपालिकाले सरुवा तथा औषधि व्यवस्थापनको विषयलाई लिएर भ्रामक अभिव्यक्ति र टिकाटिप्पणी गर्ने आफ्ना कर्मचारीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
औषधि निकासा नै नगरी औषधि बुझिलिएको भर्पाई गराउन खोजिएको भन्ने आरोप निराधार रहेको स्पष्ट पार्दै नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले सोमबार पत्रकार सम्मेलन गरी उक्त आरोपको खण्डन गरेका हुन्। नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।
विज्ञप्तीमा स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नगरी भर्पाई गराउन खोजिएको भन्ने आरोप कपोकल्पित र झुठा भएको बताएका छन्। उनका अनुसार स्वास्थ्य शाखाबाट खरिद हुने औषधि तथा सर्जिकल सामग्री पीएएमएस भी–२ प्रणालीमार्फत अनलाइन माध्यमबाट माग फारम, खरिद आदेश, दाखिला तथा हस्तान्तरण प्रक्रिया सम्पन्न हुने भएकाले कुनै पनि किसिमको गलत भर्पाई गराउन नसकिने व्यवस्था रहेको छ।
यसअघि नगरपालिकाका केही स्वास्थ्यकर्मीहरूले पत्रकार सम्मेलन गरी औषधि खरिद नगरी भर्पाई माग गरिएको र नदिँदा सरुवा गरिएको आरोप लगाएका थिए। तर नगरपालिकाले उक्त आरोपमा कुनै सत्यता नरहेको र सरुवा टार्नका लागि गलत प्रचार गरिएको दाबी गरेको छ।
नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन, कर्मचारीको कार्यसम्पादन, नियमितता तथा सेवाग्राहीबाट प्राप्त गुनासोलाई सम्बोधन गर्न र लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीलाई विभिन्न वडामा कार्य अनुभव दिलाउने उद्देश्यले प्रचलित ऐन–कानुनको दायराभित्र रही निष्पक्ष रूपमा सरुवा गरिएको स्पष्ट पारेको छ।
त्यस्तै, निश्चित अवधिको कार्यसम्पादन मूल्यांकनका आधारमा हुने कर्मचारीको स्तरवृद्धि प्रचलित कानुनअनुसार नै हुने र यसमा लेनदेन वा पहुँचको आधारमा सम्भावना नरहेको भन्दै लगाइएका आरोप निराधार रहेको नगरपालिकाको भनाइ छ।
इ–बिडिङमार्फत औषधि खरिद प्रक्रिया सम्पन्न भइसकेको र अबको एक साताभित्र पालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने स्वास्थ्य शाखाले जानकारी दिएको छ।