२०८२ साल माघ १९ गते अाईतबार

सप्तरी–१ मा एमालेका सुमन प्याकुरेललाई पछ्याउँदै अन्य दल

कृष्ण मण्डल

राजविराज, १२ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सुमन राज प्याकुरेललाई केन्द्रमा राख्दै अन्य राजनीतिक दलहरू कडा प्रतिस्पर्धामा उत्रिएका छन्।

यसअघि दुईपटक निर्वाचनमा पराजित भएका प्याकुरेल यसपटक संगठनात्मक संरचना सुदृढ हुनुका साथै ‘सेन्टिमेन्टल मत’को आधारमा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। यद्यपि, उनको बलियो उपस्थितिका बाबजुद प्रतिस्पर्धा सहज भने छैन।

यस क्षेत्रमा नेपाली कांग्रेसका रामदेव साह, जनमत पार्टीका डा. जयकान्त राउत, राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा चौधरी तथा स्वाभिमान पार्टीका सुमित कुमारलगायत उम्मेदवारहरू चुनावी मैदानमा रहेकाले मत विभाजन हुने र निर्वाचन थप रोचक बन्ने देखिएको छ।

पाँचवटा स्थानीय तह समेटिएको सप्तरी–१ मा एक लाख नौ हजारभन्दा बढी मतदाता रहेका छन्। प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी नेपालका श्यामसुन्दर सरदारसहित १४ वटा दलका उम्मेदवार तथा सात जना स्वतन्त्र उम्मेदवार गरी कुल २१ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

संगठनात्मक अवस्था, जातीय समीकरण र दलगत प्रभावका कारण यस क्षेत्रको निर्वाचन परिणाम अनिश्चित देखिन्छ। सप्तकोसी र कञ्चनरुप क्षेत्रलाई एमालेको गढ मानिए पनि अग्निसाइर कृष्णासबरण, तिरहुतमा मिश्रति र हनुमाननगर कंकालिनी क्षेत्रमा एमालेको अवस्था अपेक्षाकृत कमजोर मानिन्छ।

विशेषगरी हनुमाननगर क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमार र जनमत पार्टीका डा. जयकान्त राउतको राम्रो पकड रहेको बताइन्छ। बहुदलीय सहभागिता र सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा होमिएकाले सप्तरी–१ को निर्वाचनलाई वास्तविक शक्ति परीक्षणका रूपमा हेरिएको छ।

प्रतिक्रिया