राजविराज, ५ माघ । पूर्व मुख्यमन्त्री तथा मधेश प्रदेश सभा सदस्य सतिश सिंहले आज विधिवत रूपमा प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
उनले मधेश प्रदेश सभाका सभामुखसमक्ष लिखित रूपमा राजीनामा पेश गरेका हुन्।
पेश गरिएको राजीनामा पत्रअनुसार सिंहले नेपालको संविधान २०७२ को धारा १८०(क) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४८(१) बमोजिम प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उक्त राजीनामा मिति २०८२ माघ ०५ गतेदेखि लागू हुने गरी पेश गरिएको छ।
यससँगै उनले जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्।
राजीनामापछि जारी गरिएको संक्षिप्त वक्तव्यमा सिंहले व्यक्तिगत तथा राजनीतिक कारणले प्रदेश सभा सदस्य पद र पार्टी सदस्यता त्याग्ने निर्णय लिएको बताएका छन्।
उनको राजीनामाले मधेश प्रदेशको राजनीतिक वृत्तमा नयाँ चर्चा र तरंग उत्पन्न गरेको छ।