कृष्ण मण्डल
काठमाडौं, २८ साउन । वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका नाममा हिरासतमा राखेको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौंमा कडा धर्ना दिने भएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै महासंघले आज साउन २८ गते बिहान ९ बजे भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना आयोजना गरेको हो।
महासंघले श्रेष्ठको तत्काल रिहाइको माग गर्दै धर्नामा पत्रकार, सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेको छ।
महासंघले पत्रकारलाई समाचार लेखेकै कारण अनुसन्धान र हिरासतको नाममा दबाब तथा भय सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। पत्रकारमाथि हुने कुनै पनि किसिमको दमन, धरपकड र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयासविरुद्ध महासंघ दृढतापूर्वक उभिने सन्देशसमेत दिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले वरिष्ठ पत्रकार श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको रक्षाका लागि आयोजना गरिएको धर्नामा प्रेस स्वतन्त्रताप्रेमी सम्पूर्ण पत्रकार तथा नागरिकलाई उपस्थित हुन हार्दिक आह्वान गरेका छन्।
पत्रकारमाथिको धरपकड बन्द गर, किशोर श्रेष्ठलाई तत्काल रिहा गर र प्रेस स्वतन्त्रताको सम्मान गर भन्ने मागसहित महासंघले आफ्नो विरोधलाई थप सशक्त बनाउने संकेत गरेको छ।