कृष्ण मण्डल
राजबिराज , २६ श्रावण । राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सेवा–सुविधा सुधार तथा विस्तारका लागि १५ बुँदे माग अघि सारेको छ।
पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा अस्पताललाई आवश्यक जनशक्ति, पूर्वाधार र उपकरणसहित तत्काल ३०० शय्यामा स्तरोन्नति गर्न माग गरिएको छ।
निर्माण सम्पन्न अस्पताल भवन तत्काल सञ्चालनमा ल्याउन, मुटुरोगीका लागि छुट्टै हर्ट सेन्टर स्थापना गर्न तथा आईसीयू, भेन्टिलेटर, इन्डोस्कोपी र ओपीजी एक्स–रेलगायतका सेवा विस्तार गर्न पनि माग गरिएको छ।
त्यस्तै, अस्पताल परिसरमा रहेको नर्सिङ कलेज सञ्चालनमा ल्याउन, युरोलोजिस्टसहित आवश्यक विशेषज्ञ चिकित्सकको दरबन्दी थप गर्न र चिकित्सकको नियमित सेवा सुनिश्चित गर्न माग गरिएको छ।
अस्पतालका वार्डमा तातो तथा चिसो खानेपानीको व्यवस्था, चिकित्सकका लागि आवास, फार्मेसीमा बिमाबाट उपलब्ध हुने औषधिको पर्याप्त आपूर्ति तथा प्रभावकारी सरसफाइको व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ।
एचडीयूसहित विभिन्न सेवामा गरिएको शुल्क वृद्धि घटाउन, चिकित्सकको राउण्डको निश्चित समय निर्धारण गर्न, नातागोताका आधारमा गरिएका नियुक्ति खारेज गरी प्रक्रियागत रूपमा योग्य व्यक्तिको छनोट गर्न तथा पोस्टमार्टम भवनलाई आधुनिकीकरण गरी व्यवस्थित शवगृहको व्यवस्था गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ।