राजबिराज, १६ चैत । वर्तमान सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) राजविराज नगर कमिटी, सप्तरीले सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ।
नगर कमिटीको आयोजनामा गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि गरिएको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण” भन्दै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले वर्तमान सरकार अधिनायकवादी तथा निरंकुश शैलीमा अघि बढिरहेको आरोपसमेत लगाएका छन्।
उक्त मसाल जुलुस राजविराजस्थित पार्टी कार्यालय मदननगरबाट सुरु भई नगरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो। जुलुस अन्ततः स्थानीय नेता चौक (जनआन्दोलन चौक) पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै कथित गृहमन्त्रीका अराजक गतिविधिहरूको समेत विरोध गरेका थिए। कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
एमाले राजविराज नगर कमिटीले राजनीतिक प्रतिशोध बन्द गर्न र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारसँग माग गर्दै यस्ता गतिविधि जारी रहे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।