राजविराज, १५ चैत । सप्तरीका नव पुस्ताका पत्रकारहरूले नेपाल पत्रकार महासंघ शाखा अगाडि धर्ना दिँदै नयाँ सदस्यता माग गरेका छन्।
उनीहरूले लामो समयदेखि शाखाले नयाँ सदस्यता वितरण नगरेको र पत्रकारहरू संस्थागत अधिकारबाट वञ्चित भएको आरोप लगाएका छन्।
चैत्र ४ गते पत्रकारहरूले महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सदस्यता प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए। तर माग सम्बोधन नभएको भन्दै उनीहरूले आजदेखि पाँच दिनसम्म प्रत्येक दिन एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेका छन्।
संघर्ष समितिका संयोजक रुपेश यादवले भने, “पहिलो चरणमा धर्ना दिनेछौं। यदि सुनुवाइ भएन भने दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौं।”
यसैबीच, महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई यस्तो आन्दोलन नगर्न आग्रह गरेको छ।