२०८३ साल जेठ २३ गते शनिवार

छिन्नमस्ताकाे उपाध्यक्षसहित १० जनप्रतिनिधिलाई पदमुक्त गर्न नेकपाकाे सिफारिस

राजविराज, २१ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र पार्टीका उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सप्तरीका एक गाउँपालिका उपाध्यक्षसहित १० जना जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गरेको छ।

शुक्रबार राजविराजमा बसेको पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टी हितविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादवसहित १० जनप्रतिनिधिमाथि कारबाहीको सिफारिस गर्ने निर्णय गरेको हो।

पदमुक्तिका लागि सिफारिस गरिएकामध्ये छिन्नमस्ता गाउँपालिका–१ का वडाध्यक्ष ललन कुमार यादव, वडा नं. ६ का कपलेश्वर साह, राजविराज नगरपालिका–७ का सुभाष यादव, वडा नं. ८ का जयनारायण मण्डल, वडा नं. १० का गंगाराम खंग, विष्णुपुर गाउँपालिका–१ का बलराम यादव, रुपनी गाउँपालिका–२ का सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका–४ का मुनिलाल मुखिया तथा सुरुङ्गा नगरपालिका–१ का छत्रबहादुर राउत रहेका छन्।

पार्टीका केन्द्रीय सदस्य गोविन्द न्यौपानेका अनुसार प्रतिनिधिसभा निर्वाचनमा पार्टीको चुनाव चिन्हबाट निर्वाचित भए पनि ती जनप्रतिनिधिहरू पार्टी र पार्टीका उम्मेदवारविरुद्ध लागेको पुष्टि भएकाले प्रचलित कानुनअनुसार पदमुक्तिको प्रक्रिया अघि बढाउन निर्वाचन आयोगमा आवश्यक कारबाहीका लागि पार्टी केन्द्रलाई सिफारिस गरिएको हो।

यसैबीच, पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सह–इन्चार्ज विश्वनाथ साह तथा सहसंयोजक सुधिर साहको उपस्थितिमा सम्पन्न बैठकले जिल्लाका १८ वटै स्थानीय तहमा संगठनात्मक समायोजन प्रक्रिया असार १० गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

पार्टीको ‘एक पालिका, एक केन्द्रीय सदस्य’ अवधारणाअनुसार संगठन विस्तार तथा समायोजन कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिएको केन्द्रीय सदस्य सूर्यनाथ यादवले जानकारी दिए।

प्रतिक्रिया