राजविराज, २१ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भएको हुलहुज्जत, तोडफोड तथा प्रमुख प्रशासकीय अधिकृतमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही र सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।
विहिबार गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत बुझाएको ४ बुँदे अनुरोधपत्रमा जेठ २१ गते एक समूहले योजनाबद्ध रूपमा गाउँपालिका कार्यालयमा प्रवेश गरी अराजक गतिविधि गरेको उल्लेख गरिएको छ। पत्रअनुसार उक्त समूहले विद्यालय क्षेत्रको शैक्षिक वातावरण प्रभावित पार्नुका साथै कार्यालयभित्र हुलहुज्जत, तोडफोड र सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गरेको आरोप लगाइएको छ।
घटनाका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि कार्यकक्षभित्रै शारीरिक तथा मानसिक दबाब सिर्जना गरिएको, अभद्र व्यवहार गरिएको र कार्यालयका भौतिक सम्पत्तिमा समेत क्षति पुर्याइएको कर्मचारीहरूको दाबी छ।
कर्मचारीहरूले यस्ता गतिविधिले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर बनाउनुका साथै स्थानीय तहको नियमित सेवा प्रवाह, सुशासन र विधिको शासनमाथि गम्भीर चुनौती खडा गरेको बताएका छन्। उनीहरूले घटनामा संलग्न मुख्य योजनाकारसहित अन्य व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।
साथै गाउँपालिका कार्यालय, जनप्रतिनिधि र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था र निगरानी बढाउन समेत आग्रह गरिएको छ।
छिन्नमस्ता गाउँपालिकाले आफू शान्ति सुरक्षा, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा दृढ रहेको जनाउँदै आवश्यक सहयोग र समन्वयका लागि सदैव प्रतिबद्ध रहेको जनाएको छ।