२०८२ साल चैत १७ गते मङ्गलबार

वैशाख १ देखि ब्रिज कोर्स र प्रवेश तयारी कक्षा बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना लक्षित गरी सञ्चालन हुँदै आएका यस्ता कार्यक्रमहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचलाई कमजोर बनाउने र अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने गरेको निष्कर्ष निकालिएको छ।

हाल विभिन्न शैक्षिक संस्थाहरूले विद्यालय र उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि प्रवेश परीक्षालाई लक्षित गर्दै ब्रिज कोर्स तथा तयारी कक्षाहरू सञ्चालन गर्दै आएका छन्।

यसैबीच, मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई यस्ता कार्यक्रम सञ्चालन भए नभएको नियमित अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन निर्देशन दिएको छ।

प्रतिक्रिया