२०८२ साल चैत १७ गते मङ्गलबार

स्थापना दिवसमा पत्रकारका लागि निःशुल्क कान परीक्षण शिविर

राजबिराज , १६ चैत । नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा पत्रकारहरूका लागि निःशुल्क कान परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ।

सोमबार शाखाको सभाहलमा सम्पन्न उक्त शिविरमा करिब तीन दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निःशुल्क रूपमा कान परीक्षण गराउनुका साथै आवश्यक औषधि समेत प्राप्त गरेका छन्।

शिविरमार्फत पत्रकारहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य ललिता साह, उपाध्यक्षद्वय रामनारायण विश्वास र सुधा देव, सहसचिव कृष्ण मण्डल, कोषाध्यक्ष नवीन कुमार गुप्ता, पूर्वअध्यक्षद्वय बैधनाथ झा र धिरेन्द्र प्रसाद साह, प्रेस स्वतन्त्रता सेनानी देवराम यादव लगायतको उपस्थिति रहेको थियो।

शिविर सञ्चालनमा इम्प्याक्ट नेपाल तथा ठाकुर देवी–जोगेन्द्र भगत कान उपचार केन्द्र, राजबिराज–८ को सहयोगमा डाक्टरहरू मनोज मण्डल र दिल्ली बहादुर अधिकारीको टोली परिचालन गरिएको थियो। उक्त सहयोगले शिविरलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको शाखा उपाध्यक्ष रामनारायण विश्वासले जानकारी दिएका छन्।



प्रतिक्रिया