२०८३ साल जेठ ३ गते अाईतबार

निर्वाचनमा जिम्मेवार र तथ्यपरक पत्रकारितामा जोड

राजविराज, ७ फागुन। निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा राजनीतिक दल तथा पत्रकारहरू जिम्मेवार, संवेदनशील र तथ्यपरक बन्नुपर्नेमा जोड दिएका छन्।

प्रेस काउन्सिल नेपालको आयोजनामा तथा नेपाल पत्रकार महासंघ सप्तरीको संयोजनमा बिहीबार सम्पन्न कार्यक्रममा निर्वाचन अवधिमा मिडियाको भूमिका अत्यन्त संवेदनशील हुने भएकाले आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको धारणा व्यक्त गरिएको थियो।

वक्ताहरूले पत्रकारिता पेशा समाजको विश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले समाचार प्रकाशन तथा प्रसारण गर्दा सत्य–तथ्य, सन्तुलन र निष्पक्षतालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका थिए। निर्वाचनका बेला साना त्रुटिले समेत ठूलो प्रभाव पार्न सक्ने भएकाले सबै पक्षले संवेदनशीलता र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिइयो।

कार्यक्रममा निर्वाचन आचारसंहिताका प्रावधान, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, भ्रामक सूचना नियन्त्रण तथा उम्मेदवार र राजनीतिक दलबीच सन्तुलित समाचार सम्प्रेषणका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले अफवाह, दुष्प्रचार र अपुष्ट सूचनाबाट जोगिन फ्याक्ट–चेकलाई अनिवार्य अभ्यास बनाउनुपर्ने सुझाव दिएका थिए।

महासंघ सप्तरीका पदाधिकारीहरूले जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पेशागत मर्यादा र आचारसंहिताको दायराभित्र रहेर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताले स्वच्छ तथा विश्वसनीय निर्वाचन वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य निर्वाचन सप्तरीका मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, महासंघका महासचिव रामजी दाहाल, प्रेस काउन्सिल सदस्य शान्ताराम बिडारी, मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशी, जनमत संघकाे अध्यक्ष अवधेश झा तथा उच्च बार इकाइ राजविराजका अध्यक्ष बलराम यादव लगायतले राजनीतिक दल र सञ्चारकर्मीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यमका पत्रकार, सञ्चारसम्बद्ध व्यक्तित्व तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया