२०८२ साल चैत १७ गते मङ्गलबार

ओली पक्राउविरुद्ध राजबिराजमा प्रदर्शन, ज्ञापन बुझाउँदै एमालेको चेतावनी “रिहा नगरे आन्दोलन देशव्यापी हुन्छ”

राजबिराज , १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सप्तरीको राजबिराजमा विरोध प्रदर्शन चर्किएको छ।

पक्राउको विरोधमा एमालेका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिँदै जिल्ला प्रशासन कार्यालय घेराउ गरी ज्ञापनपत्र बुझाएका छन्। एमाले जिल्ला कमिटी सप्तरीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरिएको हो।


ज्ञापनपत्रमार्फत ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै तत्काल रिहाइको माग गरिएको छ। एमालेले सरकारको उक्त कदमलाई गैरकानुनी, अलोकतान्त्रिक र पूर्वाग्रहपूर्ण भन्दै कडा आपत्ति जनाएको छ।

एमाले सप्तरीका कार्वाहक जिल्ला अध्यक्ष जयप्रकाश ठाकुरले कानुनी प्रक्रिया मिचेर गरिएको पक्राउ तत्काल खारेज गरी ओलीलाई बिना शर्त रिहा गर्नुपर्ने बताएका छन्।

उनले चेतावनी दिँदै भने, “यदि हाम्रो मागप्रति सरकार गम्भीर भएन भने आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी बनाइनेछ।”

ज्ञापनपत्र बुझाउने क्रममा ठूलो संख्यामा सहभागी भएका एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केही समय राजबिराजको मुख्य बजार क्षेत्र तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया