सिरहा, १५ फाल्गुन । सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डा पर्सा निवासी श्यामकुमार मण्डलकी छोरी सरस्वती कुमारी मण्डल नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी नायब निरीक्षक (सब–इन्सपेक्टर) पदमा स्थायी नियुक्त भएकी छन्।
सरस्वतीले लोक सेवा आयोग द्वारा लिइने सबै चरणका कठिन परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्दै समावेशी समूहअन्तर्गत मधेसी कोटामा स्टाफ नर्स, प्राविधिक प्रहरी नायब निरीक्षक पदमा नाम निकाल्न सफल भएकी हुन्।
उनको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सिङ्गो तराई–मधेश, विशेषगरी खत्वे समुदायका लागि ऐतिहासिक गर्वको विषय बनेको छ। सामाजिक तथा शैक्षिक रूपमा पछाडि पारिएको समुदायबाट आएकी सरस्वतीले अथाह मेहनत, लगनशीलता र अध्ययनप्रतिको समर्पणका बलमा “फलामे ढोका” भनेर चिनिने लोक सेवा आयोगको परीक्षा पार गर्न सफल भएकी हुन्।
खत्वे समुदायबाट नेपाल प्रहरीको सब–इन्सपेक्टर पदमा महिला प्रतिनिधित्व गराएको उल्लेख गर्दै राष्ट्रिय दलित कर्मचारी समाज नेपालका केन्द्रीय सदस्य राजलाल मण्डलले यस उपलब्धिलाई ऐतिहासिक बताएका छन्। उनका अनुसार सरस्वतीको सफलता सिङ्गो समुदायको आत्मविश्वास बढाउने प्रेरणादायी कदमका रूपमा रहेको छ र यसले अन्य मधेसी महिलालाई शिक्षा तथा राष्ट्र सेवातर्फ अघि बढ्न ऊर्जा दिनेछ।
तीन महिना अघि सरस्वतीको सिरहाकै कल्याणपुर नगरपालिका–३ इटारि प्रसाही निवासी इन्जिनियर दिपेन्द्र मण्डलसँग विवाह भएको थियो।
सरस्वतीको उपलब्धिले परिवार, आफन्त तथा समुदायमा खुसी छाएको छ। स्थानीयवासीले उनलाई आगामी दिनमा अझ प्रगति गर्दै देश र जनताको सेवामा समर्पित रहन शुभकामना व्यक्त गरेका छन्।