राजविराज, २३ पुस । गजेन्द्र नारायण सिंह अस्पतालमा केही समयदेखि बन्द रहेको एचडीयू (HDU) तथा एनआईसीयू (NICU) सेवा पुनः सुचारु गरिएको छ।
अस्पताल प्रशासनका अनुसार विभिन्न कारणले स्थगित उक्त सेवा मिति पुस २३ गतेदेखि पुनः सञ्चालनमा आएको हो। सञ्चालनमा आएको एचडीयू सेवा १२ बेडको तथा एनआईसीयू सेवा ४ बेडको क्षमतामा सुचारु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अबधेश कुमार मिश्रले एचडीयू र एनआईसीयू सेवा पुनः सञ्चालनमा आएसँगै गम्भीर अवस्थाका बिरामी तथा नवजात शिशुका लागि उपचार सेवा थप सहज र प्रभावकारी हुने जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालले सेवाको गुणस्तर सुधार गर्दै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको छ। सेवा पुनः सुचारु भएपछि सप्तरीसहित आसपासका जिल्लाका सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।