काठमाडौं, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स तथा प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने निर्णयबाट २४ घण्टा नबित्दै पछि हटेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन भइरहेका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको स्पष्ट पारे।
उनका अनुसार एसइईपछि कक्षा ११ मा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएका यस्ता कक्षाले अनावश्यक प्रतिस्पर्धा र दबाब सिर्जना गरेकोले तत्काल रोक लगाउने निर्णय गरिएको हो।
“एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने प्रवृत्ति बढेकाले यो निर्णय गरिएको हो,” मन्त्री पोखरेलले भने।
उनले परीक्षा नतिजा प्रकाशनको अवधि छोट्याइएको उल्लेख गर्दै विद्यार्थीमाथि पर्ने मानसिक दबाब कम गर्न यस्तो कदम चालिएको बताए।
मन्त्रालयका अनुसार आगामी वैशाख १ गतेदेखि यस्ता ब्रिज कोर्स सञ्चालनमा रोक लगाइनेछ। साथै, एसइईभन्दा माथिका कोचिङ तथा ट्युसन केन्द्रहरूलाई भने प्रचलित कानुनअनुसार नियमन गरिने जनाइएको छ।
यसअघि आइतबार मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्मका सबै प्रकारका ब्रिज कोर्स तथा तयारी कक्षा पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो। तर सोमबार उक्त सूचना हटाउँदै मन्त्रालयले आफ्नो निर्णय परिमार्जन गरेको हो।