राजविराज, ४ फागुन । डिप्लोमा इञ्जिनियर्स एशोसिएसन, नेपाल (डिन) ले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनाप्रति घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
डिनका अध्यक्ष रमेश कुमार यादव र सचिव सरोज यादवद्वारा जारी विज्ञप्तिमा सर्लाहीको पूर्वाधार विकास कार्यालय मलडवामा कार्यरत सिरहाको सुखिपुर नगरपालिका–वैशाखा घर भएका प्रमोद कुमार यादवको २०८२ साल फागुन ३ गते साँझ करिब ७:३० बजे भएको नृशंस हत्या घटनाले सम्पूर्ण इञ्जिनियर समुदाय स्तब्ध, मर्माहत र आक्रोशित बनेको उल्लेख गरिएको छ।
संस्थाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो आपराधिक घटना राज्यको शान्ति सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती भएको जनाएको छ।
डिनले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न, शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेको छ।