सप्तरी, २२ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान माघ २५ गतेदेखि सप्तरी जिल्लामा सुरु हुने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अभियान दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा डाक्नेश्वरी, बोदे बर्साइन, सुरुङा, खडक, शम्भुनाथ नगरपालिका र छिन्नमस्ता, राजगढ, बलानबिहुल, रूपनी गाउँपालिकामा खोप दिइनेछ। दोस्रो चरणमा राजविराज, कञ्चनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी नगरपालिका र तिरहुत, महादेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिका समेटिनेछ।
जिल्लाका ५८० खोप केन्द्र मार्फत ९ हजार ७८९ किशोरी लाई खोप प्रदान गरिनेछ। खोप विद्यालय नजाने १० वर्षका किशोरी, कक्षा ६ का सबै छात्रा, साथै गत आर्थिक वर्षमा छुटेका कक्षा ७–१० का छात्रा र ११–१४ वर्ष उमेरका किशोरी लाई पनि दिइनेछ।
जिल्ला स्वास्थ्य कार्यालयले आमसञ्चार माध्यममार्फत अभिभावक र शिक्षकहरूलाई खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ।