२०८२ साल कार्तिक १४ गते बिहिबार

छठपर्वको खरना आज श्रद्धा र भक्तिभावका साथ सम्पन्न

राजविराज, १० कार्तिक । छठपर्वको दोस्रो दिन पर्ने ‘खरना’ विधि आज साँझ देशभरका घरघरमा श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न गरिएको छ ।

ब्रतालुहरूले आइतबार दिनभर निराहार रहेर साँझ आफ्नो कूल देवतालाई घरमै पकाइएको सख्खर र चामलको खीर, नैवेद्य तथा फूल–प्रसाद अर्पण गरे । निष्ठापूर्वक पूजा सम्पन्न गरेपछि व्रतालुहरूले सो प्रसादलाई परिवारसँग प्रसादको रूपमा ग्रहण गरे ।

यससँगै उनीहरूले अबको ३६ घण्टे कठोर उपवास सुरु गरेका छन् । व्रतालुहरूले मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पारण गर्ने परम्परा रहेको छ ।

भोलि सोमबार साँझ व्रतालुहरू घरमै तयार पारेका ठेकुवा, भुसवा, खाजा, फलफूल र पूजा सामग्रीसहित नजिकैका नदी, ताल, पोखरी वा जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मुख्य पूजा सम्पन्न गर्नेछन् ।

त्यसपछि मंगलबार बिहान पुनः उदाउँदो सूर्यलाई बिहानी अर्घ्य दिएपछि छठ पर्व विधिपूर्वक सम्पन्न हुनेछ ।

यस अवसरमा जलाशयहरूमा घाट निर्माण र सजावटको काम तीव्र रूपमा भइरहेको छ । स्थानीय बासिन्दा, स्वयंसेवक र भक्तजनहरू पूजास्थलहरू आकर्षक रूपमा सजाउन व्यस्त देखिएका छन् ।


प्रतिक्रिया