२०८३ साल जेठ २ गते शनिवार

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा OPG, CBCT र इको सेवा सुरु हुँदै

कृष्ण मण्डल

राजविराज, २० माघ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा OPG, CBCT (Cone Beam Computed Tomography) र इको (Echo) सेवा सुरु हुने भएको छ। लामो समयको प्रतीक्षापछि यी अत्याधुनिक सेवाहरू केही दिनमै सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अबधेश मिश्राले जानकारी दिनुभयो।

उहाँका अनुसार OPG र CBCT मेसिनको सम्पूर्ण सेटअप सम्पन्न भइसकेको छ। यी सेवा सुरु भएसँगै अस्पताल बिस्तारै सुधारोन्मुख दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

काठमाडौँको वीर अस्पतालपछि मधेस र कोशी प्रदेशमा राजविराजमै पहिलोपटक OPG र CBCT सेवा जडान हुन लागेको अस्पतालका रूपमा गजेन्द्रनारायण सिंह अस्पताल चिनिने भएको छ। यस सेवाबाट सप्तरी मात्र नभई सिराहा, सुनसरी, उदयपुरलगायतका जिल्लाका बिरामीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

CBCT प्रविधि दाँत, जबडा र मुखको त्रि–आयामिक (3D) स्पष्ट तस्बिर हेर्न, रुट क्यानाल, इम्प्लान्ट तथा बुद्धिदाँत (अकल दाँत) को उपचारअघि जाँच गर्न उपयोगी हुने अस्पतालका वरिष्ठ डेन्टल सर्जन कृष्णदेव ठाकुरले जानकारी दिनुभयो। यसले जबडाको हड्डी, नसा (नर्भ) र साइनसको अवस्थाबारे साधारण एक्स–रेभन्दा धेरै स्पष्ट र विस्तृत जानकारी दिने उहाँको भनाइ छ।


अहिलेसम्म CBCT सुविधा नहुँदा बिरामीहरू काठमाडौँ वा अन्य ठूला सहर धाउन बाध्य थिए। अब राजविराजमै सेवा सञ्चालनमा आउन लागेपछि स्थानीयवासीहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

हाल अस्पतालमा वरिष्ठ डेन्टल सर्जन कृष्णदेव ठाकुर, डेन्टल सर्जन महेन्द्र मण्डल तथा डेन्टल सर्जन दिपाली झालगायतको टिम कार्यरत छ। वरिष्ठ डेन्टल सर्जन ठाकुरका अनुसार दैनिक ३५ देखि ४० जना दन्तसम्बन्धी बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेका छन्।


CBCT र इको सेवा सुरु भएपछि अस्पतालबाट बाहिर रेफर गरिने बिरामीको संख्या घट्नुका साथै सस्तो र सुलभ उपचार यहीँ उपलब्ध गराउन सकिनेमा आफूहरू विश्वस्त रहेको डा. मिश्राले बताउनुभयो।

उनले भने,

“मेसु मात्र फेरिँदैमा अस्पतालको मुहार पूर्ण रूपमा फेरिन्छ भन्नेमा म आशावादी छैन। यहाँको  प्रणाली, कर्मचारी व्यवस्थापनमा कठिनाइ, कर्मचारीको अभाव, न्यून स्रोत–साधन, उपकरण र संरचनागत समस्या रहदै आएको छ । पुरानो परिपाटी, संकुचित सोच र जकडिएको संरचनाका कारण अस्पताल अझै चुनौतीपूर्ण अवस्थामा छ।”

डा. मिश्राका अनुसार यहाँको स्थानीयहरुकाे साथ र सहयोग तथा कर्मचारीहरुकाे पनि हातेमालोले मात्रै  यस अस्पतालकाे दीर्घकालीन रुपमा समस्या हल हुने बताउनु भयो ।


त्यसैगरी, एक वर्षदेखि बन्द रहेको १२ बेडको HDU सेवा र ४ बेडको NICU सेवा पुनः सञ्चालनमा ल्याउन सफल भएपछि रेफर गरिने बिरामीको चाप ह्वात्तै घटेको उहाँले जानकारी दिनुभयो।

हाल २ हजार रुपैयाँ लिइँदै आएको HDU बेडचार्ज घटाएर समायोजन गरिने पनि उहाँले मधेस मिररसँगको कुराकानीमा बताउनुभयो।



प्रतिक्रिया