राजविराज, माघ ६ — प्रतिनिधि सभा सदस्य पदका लागि मंगलबार (आज) उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
उम्मेदवारी दर्ता सकिएलगत्तै आजै उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय बुधबार ७ गते तोकिएको छ भने उजुरीमाथि जाँचबुझ गरी ८ गतेसम्म निर्णय लिइने आयोगले जनाएको छ।
बिहीबार ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ता लिने समय ९ गते राखिएको छ भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका छ।
निर्वाचन फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ।
सप्तरी जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवारी दर्ता कञ्चनरुप नगरपालिकामा, क्षेत्र नम्बर २ को राजविराजमा, क्षेत्र नम्बर ३ को शम्भुनाथमा र क्षेत्र नम्बर ४ को खडक नगरपालिकामा हुनेछ।