राजबिराज, १६ कार्तिक । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रक्रिया हालका लागि स्थगन गरिएको जानकारी सार्वजनिक गरेको छ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै २०७० सालदेखि सञ्चार माध्यमको रूपमा अनलाइनलाई सूचीकरण गर्ने कार्य प्रारम्भ गरेको भए पनि हालका कानुनी व्यवस्थाअनुसार उक्त प्रक्रिया रोकिने जनाएको हो। नेपाल सरकारले २०७९ साल चैत ९ गते लागू गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७९ अनुसार अबका अनलाइन सञ्चार माध्यमको अभिलेखन, सूचीकरण र नवीकरण कार्य प्रेस काउन्सिलले गर्न नपाउने स्पष्ट भएको सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, “अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका–२०७९ (पहिलो संशोधन, २०८१) मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले अभिलेखन र सूचीकरणका लागि सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था भए तापनि हाल नेपाल ऐन संशोधन ऐन, २०८० र नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त अधिकार प्रेस काउन्सिल नेपालबाट हटाइएको छ।”
काउन्सिलका सहप्रवक्ता तथा सूचना अधिकारी रामसरण बोहराद्वारा जारी सूचनामा भनिएको छ कि, नयाँ कानुनी व्यवस्थाअनुसार अब अनलाइन सञ्चार माध्यमको अभिलेखन तथा सूचीकरणका कार्य नेपाल राजपत्रमा उल्लेखित सम्बन्धित निकायले मात्र गर्नेछन्।
काउन्सिलले सबै सरोकारवालालाई यस विषयमा जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ।