कृष्ण मण्डल
राजविराज, १० माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एजेन्डाविहीन र हावाको भरमा भइरहेको वर्तमान राजनीतिप्रति कडा टिप्पणी गर्दै जनमत पार्टी स्थापना कालदेखि नै स्पष्ट नीति, कार्यक्रम र एजेन्डासहित अघि बढिरहेको बताएका छन्।
शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले नौलो गणतन्त्र, पूर्ण प्रदेश स्वायत्तता, सुशासन, सामाजिक न्याय, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र समावेशी विकास जनमत पार्टीका मुख्य एजेन्डा रहेको स्पष्ट पारे। उनका अनुसार पार्टीले यी एजेन्डालाई केन्द्रमा राख्दै देशभर ६१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।
डा. राउतले यस निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षतर्फ २० देखि २५ सिटसम्म जित हासिल गर्ने अनुमानसमेत सार्वजनिक गरे। उनले आफू पद, लाभ वा सत्ता स्वार्थका लागि राजनीतिमा नआएको उल्लेख गर्दै जनताको सेवकका रूपमा निरन्तर जनसम्पर्क, समस्या समाधान र विकास योजनामा सक्रिय रहेको बताए। साथै जनमत पार्टीले ‘दलान–दलिन’ कार्यक्रममार्फत जनतामाझ निरन्तर उपस्थित रहँदै सेवामा समर्पित रहेको पनि उनले उल्लेख गरे।
जनमत पार्टीद्वारा सार्वजनिक प्रचार सामग्रीअनुसार डा. सिके राउतको पहलमा सप्तरी–२ सहित मधेश प्रदेशमा ६०० भन्दा बढी विकास योजना अघि बढाइएको दाबी गरिएको छ। ती योजनामा सडक, पुल, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिँचाइ, रोजगारी तथा सामाजिक विकाससम्बन्धी कार्यक्रमहरू समावेश छन्।
डा. राउतले शिक्षा र प्रविधिलाई विकासको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै School of AI & Robotics, स्पेस सेन्टर, आईटी पार्क स्थापना तथा नवप्रवर्तनमार्फत रोजगारी सिर्जनामा विशेष जोड दिएका छन्। मधेशलाई आधुनिक युगतर्फ लैजाने दीर्घकालीन दृष्टिकोण जनमत पार्टीसँग रहेको उनको भनाइ छ।
उनले ‘नौलो गणतन्त्र’ को अवधारणा अघि सार्दै देश र प्रदेश दुवैको समस्या समाधानका लागि पूर्ण प्रदेश स्वायत्तता अनिवार्य रहेको बताए। प्रशासनिक, आर्थिक तथा राजनीतिक अधिकार प्रदेशलाई हस्तान्तरण नगरेसम्म समावेशी विकास सम्भव नहुने डा. राउतको तर्क छ।
अन्य राजनीतिक दलहरू स्पष्ट एजेन्डाविना चुनावी नारामा सीमित रहेको आरोप लगाउँदै डा. राउतले जनताको वास्तविक समस्या समाधान गर्ने ठोस योजना जनमत पार्टीसँग मात्रै रहेको दाबी गरे।