२०८३ साल जेठ ३ गते अाईतबार

प्रदेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुख नागेन्द्र यादव सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी तथा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालको बिलिङ काउन्टरबाट संकलन भएको सेवा शुल्क दाखिला नगरी दुरुपयोग गरिएको, जसका कारण सरकारी रकममा हानि–नोक्सानी पुगेको अख्तियारको ठहर छ। आयोगका अनुसार संकलित शुल्क राज्यको खातामा जम्मा नगरी अनियमित तरिकाले प्रयोग गरिएको पाइएपछि अनुसन्धान अगाडि बढाइएको हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि भएको जनाउँदै प्रतिवादीहरूबाट बिगो रकम रु. ३६,७७,५२४।५३ कायम गरी सोही बराबरको बिगो असुल उपर गर्न, कैद तथा जरिवाना सजायको मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ।

यस प्रकरणले सार्वजनिक स्वास्थ्य संस्थामा हुने आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। आयोगले सार्वजनिक निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ अनुसन्धान र कारबाही जारी रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया