रौतहट, जेठ २७ । सरकारी कर्मचारीप्रति आमनागरिकको विश्वास घट्दै गएको चर्चा भइरहेका बेला रौतहटमा भने एक सरकारी अधिकृतको कार्यशैली र सक्रियताले सकारात्मक सन्देश दिएको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा देखाएको सक्रियताका कारण पछिल्लो समय चर्चा र प्रशंसाको केन्द्र बनेका छन्।
रौतहट जिल्लामा लामो समयदेखि वन अतिक्रमण, चोरी कटानी र वन पैदावार तस्करी चुनौतीका रूपमा रहँदै आएको थियो। वन क्षेत्रको संरक्षणभन्दा व्यक्तिगत स्वार्थ र अवैध गतिविधि हाबी हुने अवस्था देखिन्थ्यो। तर हेमन्त प्रसाद साहले डिभिजन वन कार्यालयको नेतृत्व सम्हालेपछि वन प्रशासनले नयाँ गति पाएको स्थानीयवासीहरू बताउँछन्।
साहको विशेषता भनेको कार्यालयमै सीमित नभई प्रत्यक्ष रूपमा फिल्डमा पुगेर काम गर्ने शैली हो। उनी नियमित रूपमा वन क्षेत्रको अनुगमन तथा निरीक्षणमा सहभागी हुने गरेका छन्। वन क्षेत्रमा हुने गतिविधिको प्रत्यक्ष जानकारी लिने र समस्याको तत्काल समाधान खोज्ने उनको कार्यशैलीले कर्मचारीहरूलाई समेत थप जिम्मेवार बनाएको बताइन्छ।
वन कार्यालयका कर्मचारीहरूका अनुसार साहले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने नीति अपनाएका छन्। राजनीतिक दबाब, पहुँच वा प्रभावका आधारमा कसैलाई संरक्षण नदिने उनको अडानले वन क्षेत्रका अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित बनाएको छ। वन प्रशासनलाई निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गर्ने उनको प्रयासले कार्यालयको छवि सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ।
उनको नेतृत्वमा वन पैदावार चोरी निकासी रोक्न नियमित गस्ती परिचालन गरिएको छ। वन अतिक्रमण भएका क्षेत्रहरू पहिचान गरी खाली गराउने अभियान सञ्चालन गरिएको छ। अतिक्रमण हटाइएका क्षेत्रमा पुनः वृक्षारोपण तथा वन पुनर्स्थापनाका कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।
वन संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदायको पनि साझा दायित्व भएको मान्यता राख्ने साहले स्थानीय समुदायसँग सहकार्यलाई जोड दिएका छन्। वन उपभोक्ता समूह, स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वय बढाएर संरक्षण अभियानलाई प्रभावकारी बनाउने प्रयास उनले गरेका छन्।
स्थानीयवासीहरूका अनुसार विगतको तुलनामा अहिले वन क्षेत्रमा अवैध कटानी र तस्करीका घटना उल्लेखनीय रूपमा घटेका छन्। वन क्षेत्रमा हुने छिटफुट अवैध गतिविधिसमेत तत्काल नियन्त्रणमा ल्याउने क्षमता वन कार्यालयले विकास गरेको उनीहरूको भनाइ छ।
गरुडा नगरपालिका निवासी अन्होती गुप्ताका अनुसार रौतहटमा कार्यरत वन अधिकृतहरूमध्ये हेमन्त प्रसाद साह सबैभन्दा सक्रिय, इमानदार र परिणाममुखी अधिकृतका रूपमा देखिएका छन्। “उहाँले वन जोगाउने मात्र होइन, वन प्रशासनप्रति जनविश्वास समेत बढाउनुभएको छ,” उनले भने।
वन क्षेत्र संरक्षण, अतिक्रमण नियन्त्रण, वृक्षारोपण तथा सुशासन कायम गर्न साहले खेलेको भूमिकाका कारण रौतहटका वन क्षेत्र नयाँ दिशातर्फ उन्मुख भएको सरोकारवालाहरूको बुझाइ छ। निरन्तरको सक्रियता र प्रतिबद्धताका कारण हेमन्त प्रसाद साह वन संरक्षणका क्षेत्रमा एक उदाहरणीय प्रशासकका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीहरूको भनाइ छ।