कृष्ण मण्डल
राजबिराज, १९ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ वडा कार्यालयमा विगत नौ दिनदेखि जारी तालाबन्दी दुईबुँदे लिखित सहमतिपछि मंगलबार खुलेको छ।
स्थानीय किसानहरूले मलखाद वितरणमा भएको भनिएको अनियमितता तथा विगत चार वर्षदेखिका विभिन्न योजनाको आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दीका कारण वडा कार्यालयको दैनिक सेवा प्रवाहसमेत प्रभावित भएको थियो।
मंगलबार वडा अध्यक्ष कपिलेश्वर साहको अध्यक्षतामा बसेको बैठकमा स्थानीयवासी, किसान तथा सरोकारवालाबीच दुईबुँदे लिखित सहमति भएपछि तालाबन्दी खोलिएको हो। स्थानीयवासीका दैनिक प्रशासनिक सेवा अवरुद्ध भइरहेकाले जनहितलाई ध्यानमा राख्दै सहमतिका आधारमा तालाबन्दी खोलिएको जनाइएको छ।
सहमतिअनुसार मलखाद वितरणमा देखिएका अनियमितता तथा अपारदर्शितालाई अन्त्य गर्दै विगतको बाँकी मलखाद सम्बन्धित किसानलाई उपलब्ध गराइने निर्णय भएको छ। साथै, आगामी दिनमा वडा नं. ६ का तीनवटै टोलमा पाँच–पाँच सदस्यीय समिति गठन गरी पारदर्शी र व्यवस्थित रूपमा मलखाद वितरण गरिने सहमति भएको छ।
त्यसैगरी, विगत चार वर्षका योजना तथा आर्थिक कारोबारसम्बन्धी आवश्यक विवरण २५ भदौभित्र उपलब्ध गराउने लिखित प्रतिबद्धता वडा कार्यालयले जनाएको छ। गाउँपालिकामा अध्यक्ष, लेखापाल तथा प्रमुख प्रशासकीय अधिकृतको अभाव रहेकाले आवश्यक समय मागिएको छ। उपाध्यक्ष राजुदेवी यादव र उसको श्रीमान तेजनरायण यादव माथि लागेको मलखादमा गरेको अनियमितताकाे आराेप भने यथावत रहेको छ कारण आफैले दिएको समयमा जनतासामु हरहिसाब दिन न त आफु आउनुभयो नत काेही प्रतिनिधि नै ।
बैठकमा छिन्नमस्ता गाउँपालिका–१ का वडा अध्यक्ष ललनकुमार यादव, नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका सहसचिव कृष्णकुमार मण्डल, वडा सचिव भरत गुप्ता, स्थानीय बुद्धिजीवी, इलाका प्रहरी कार्यालय सखडाको प्रहरी टोली, बीओपी गोविन्दपुरका सशस्त्र प्रहरी तथा करिब ३ सय बढी स्थानीय किसानको उपस्थिति रहेको थियो।