राजविराज, १० कात्तिक । सप्तरीका विभिन्न स्थानमा सोमबार साँझ छठ पर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी माताको पूजा–आराधना गरेका छन्।
छठ पर्वको दोस्रो दिन ‘सन्ध्या अर्घ्य’ का अवसरमा व्रतालुहरू नदी, पोखरी, तलाउ तथा जलाशयहरूमा गई सूर्यदेव र छठी माताको आराधना गर्दै अर्घ्य अर्पण गरेका हुन्। पूजा सामग्रीका रूपमा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल र मिठाईसहितका सामग्री प्रयोग गरिएको थियो।
छिन्नमस्ता मन्दिरको पाेखरी, राजविराजको भगवती मन्दिरको पाेखरी, कल्टुदास पाेखरी, कठौन पोखरी, डाक्नेश्वरी, कंचनरुप, बलान, हनुमाननगर लगायतका स्थानका घाटहरूमा श्रद्धालुहरूको भीड देखिएको थियो। स्थानीय युवाहरूले पूजा घाटहरू दुई दिनअघिदेखि नै सरसफाइ गरी दीप र रंगोलीले सजाएका थिए।
मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म चल्ने यो महापर्व औपचारिक रूपमा सम्पन्न हुनेछ। छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरी परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ।