कृष्ण मण्डल
राजबिराज, १४ साउन । छिमेकी जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको घटनापछि सप्तरीमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ।
बैठकले ७ बुँदे निर्णय गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकमा राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय, हिन्दू तथा मुस्लिम धार्मिक अगुवा, पत्रकार, नागरिक समाज, शिक्षक, कर्मचारी, व्यापारी, उद्योगी, निर्माण व्यवसायी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले सप्तरीमा शान्ति, सुरक्षा, सद्भाव, सहिष्णुता र भाइचारा कायम राख्न सबै पक्षले समन्वय र संयमताका साथ भूमिका निर्वाह गर्ने साझा प्रतिबद्धता जनाएको छ।
सामाजिक सञ्जालमार्फत अफवाह, भ्रामक सूचना र घृणा फैलाउने गतिविधिप्रति सतर्क रहन आग्रह गर्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन र सुरक्षा निकाय प्रतिबद्ध रहेको बैठकले जनाएको छ।
बैठकले प्रदर्शनका नाममा हुने उच्छृङ्खल गतिविधि रोक्न, आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न, विद्यार्थीलाई संयमित बनाउन तथा स्थानीय तहमा सद्भाव प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न पनि निर्णय गरेको छ।
त्यसैगरी, सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
"सामाजिक सद्भाव नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो," भन्ने सन्देशसहित बैठकले बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचान बोकेको सप्तरीमा कुनै पनि अफवाह, उक्साहट र सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहँदै शान्ति, संयमता र आपसी एकता कायम राख्न सबै जिल्लावासीमा अपिल गरेको छ।