कृष्ण मण्डल
राजविराज, १७ साउन। छिन्नमस्ता गाउँपालिका–६ नम्बर वडा कार्यालयमा स्थानीयवासीले गरेको तालाबन्दी आज सातौँ दिनमा प्रवेश गरेको छ। आन्दोलनरत स्थानीयहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
आन्दोलनकारीहरूका अनुसार विगत चार वर्षमा वडा कार्यालयले खर्च गरेको करिब ४ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट कहाँ, कुन शीर्षकमा र कुन स्थानमा खर्च गरिएको हो भन्ने विस्तृत विवरण हालसम्म सार्वजनिक नगरिएकाले तालाबन्दी जारी राखिएको हो। साथै, मलखाद वितरणमा भएको भनिएको अनियमिततासम्बन्धी सम्पूर्ण हिसाब–किताब पनि सार्वजनिक नगरिएको उनीहरूको आरोप छ।
स्थानीय शिवबिहारी मण्डलका अनुसार सार्वजनिक खर्चको विवरण र मलखाद वितरणको हिसाब उपलब्ध नभएसम्म तालाबन्दी नखोल्ने निर्णय गरिएको छ।
त्यस्तै स्थानीय जयनारायण मण्डलले मर्मत–सम्भार, सामाजिक कार्य, बिजुली पोल तथा तार व्यवस्थापन, विद्यालय अनुदान र मलखाद वितरणलगायत विभिन्न शीर्षकमा व्यापक अनियमितता भएको आरोप लगाए। उनका अनुसार यी विषयमा निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने तयारी भइरहेको छ।
यता वडा अध्यक्ष कपिलेश्वर साहले आर्थिक हिसाब–किताब सार्वजनिक गर्न साउन २० गतेसम्मको समय मागेको बताएका छन्। तर स्थानीयका अनुसार उक्त समयअघि वडा अध्यक्षका छोरामार्फत आफूहरूमाथि गाली–गलौज गरिएको आरोप लगाउँदै उनीहरूले त्यस घटनामा कानुनी कारबाही नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन्।
मलखाद वितरणसम्बन्धी सम्पूर्ण जिम्मेवारी गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादवको कार्यक्षेत्रभित्र पर्ने भन्दै वडा अध्यक्षले त्यससम्बन्धी हिसाब–किताब उपाध्यक्षले नै सार्वजनिक गर्ने बताएका छन्। उपाध्यक्ष यादवले पनि मलखाद वितरणको जिम्मेवारी आफ्नो रहेको स्वीकार गर्दै आवश्यक विवरण उपलब्ध गराउने बताएकी छन्।
यस विषयमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसँग प्रतिक्रिया लिँदा उनले घटनामा अनियमितता भएको हुन सक्ने अनुमान व्यक्त गर्दै आफू हाल काठमाडौंमा रहेको बताए। साथै उनले तपाईं पत्रकार र यहाँको स्थानीय समेत भएको नाताले बरु तपाईं समन्वयकारी भूमिका खेलेर विवादको निकास निकाल्न सहयोग गरिदिन आग्रह गरे।
यता स्थानीयहरूले भने आफ्ना माग पूरा नभएसम्म तालाबन्दी र आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।