२०८३ साल साउन २० गते बुधबार

सप्तरीकाे राजबिराज र बोदेबर्साइनमा निषेधाज्ञा जारी

कृष्ण मण्डल 

राजबिराज , साउन १७।  सप्तरीकाे राजबिराज नगरपालिका र बोदेबर्साइन नगरपालिकाकाे केही तोकिएकाे क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचनाअनुसार निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

राजबिराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी–थलही क्षेत्र, उत्तरतर्फ रुपनी रोडको बसविट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञाभित्र परेको छ।

यस्तै, बोदेबर्साइन नगरपालिकामा पूर्वमा प्रितमपुर चोक, पश्चिममा खडक पुल, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराज चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्नेविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही गरिने सप्तरी प्रशासनले जनाएको छ।

प्रतिक्रिया