२०८२ साल कार्तिक १४ गते बिहिबार

उदाउँदो सुर्यलाई अर्घ दिईदै छठ महापर्व सम्पन्न

राजविराज, ११ कार्तिक । सप्तरीमा यस वर्षको लोकआस्थाको महान् पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तिपूर्वक सम्पन्न गरिएको छ। चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व शुद्धता, आत्मसंयम र आस्थाको प्रतीक मानिन्छ।

सन्तान प्राप्ति, निरोगी जीवन, सुख, समृद्धि र चर्मरोग निवारणको जनविश्वासका साथ मनाइने यो पर्वमा धनी–गरिब, उच–नीच, जात–पातको भेदभाव हराएर सबै वर्गका मानिस एउटै आस्थाको घेराभित्र पूजाअर्चनामा सहभागी हुने गर्छन्।

छठ पर्वको तयारी सप्तरीका विभिन्न स्थानमा शुक्रबारदेखि नै सुरू गरिएको थियो। स्थानीय समुदाय, युवाहरु र महिलाले नदी, पोखरी र तलाउहरू सरसफाइ गरी घाटहरू आकर्षक रूपमा सजाएका थिए। सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्व सम्पन्न गरिएको हो।

पर्वको क्रममा राम जातिले ढोल बजाउने, माली समुदायले फूल ल्याउने, बरईले पानका पात, कुम्हारले माटोका भाँडा र डोमले बाँसका सामग्री उपलब्ध गराउने परम्परा अझै पनि जगेर्ना गरिएको देखियो। यसरी श्रम विभाजनको सांस्कृतिक सौन्दर्य छठमा स्पष्ट रूपमा झल्किन्छ।

सप्तरीका राजविराज, कञ्चनपुर, डाक्नेश्वरी, हनुमाननगर, रुपनी, शम्भुनाथ लगायतका नदीनालाहरूमा भक्तजनहरूको घुइँचो लागेको थियो। बाँसका डाला, ठकुवा, केराको बोट, मौसमी फलफूल र नारिवलका साथ व्रतालुहरूले सूर्य र छठी माताको आराधना गरेका थिए।

वैज्ञानिक दृष्टिले पनि छठ पर्वको महत्व गहिरो छ। सूर्यलाई बल, यश, चक्षुस्रोत र आत्माको प्रतीक मानिँदै आएको ऋग्वेदीय मान्यताअनुसार यो पर्व सूर्य ऊर्जासँग सम्बन्धित धार्मिक–वैज्ञानिक अभ्यास हो।

सूर्यपूजाको यस पर्वले सामाजिक एकता, श्रमको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छ। सप्तरीमा सम्पन्न यस वर्षको छठ पर्वले पुनः एकपटक धार्मिक श्रद्धा र सामाजिक सहकार्यको सुन्दर संयोजन प्रस्तुत गरेको छ।









प्रतिक्रिया