२०८२ साल माघ १९ गते अाईतबार

सुख्खाबाट बच्न राहतस्वरूप सिँचाइ योजनाका लागि प्रस्ताव माग

राजविराज, १२ साउन । सप्तरीका सुख्खा तथा खडेरी प्रभावित कृषकहरूका लागि राहतस्वरूप सिँचाइ पहुँच विस्तार गर्न कृषि ज्ञान केन्द्र, सप्तरीले प्रस्ताव आह्वान गरेको छ।

केन्द्रले “सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम” अन्तर्गत आंशिक/सार्वजनिक ट्युवेल, सोलार प्रणाली तथा पूर्नस्थापना योजनाका लागि इच्छुक कृषक समूह तथा उपभोक्ता समितिहरूलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको हो।

मधेश प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयको निर्देशनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्ययोजना अन्तर्गत यो प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ।

सूचनामा उल्लेख भएअनुसार, सिँचाइ सुविधाबाट बञ्चित रहेका तथा सूखाग्रस्त क्षेत्रका किसान समूह वा समितिहरूले सार्वजनिक मापदण्ड तथा सम्बन्धित निर्देशिकाको पालना गर्दै प्रस्ताव तयार गर्नु पर्नेछ। प्रस्ताव दर्ता गर्ने समयावधि सूचना प्रकाशित भएको मितिबाट ७ दिनसम्म तोकिएको छ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख किशुन देव राउतद्वारा जारी सूचनामा समयसीमा भित्र आवश्यक कागजातहरू संलग्न गरी प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ।

प्रस्तावमा संलग्न गर्नुपर्ने मुख्य कागजातहरू:

१.समूहको नाममा रहेको सिफारिससहितको निर्णय प्रतिलिपि

२.कार्यक्रम सहयोग गर्न सक्ने प्रमाण (जग्गा वा अन्य स्रोतसम्बन्धी प्रमाणपत्र)

३.प्रस्तावक व्यक्तिको नेपाली नागरिकताको प्रतिलिपि

सूचना र सिँचाइ योजनासम्बन्धी थप जानकारीका लागि कृषि ज्ञान केन्द्र, राजविराजमा सम्पर्क गर्न सकिने जनाइएको छ।


प्रतिक्रिया